काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले अर्थमन्त्री स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। वाग्लेले सदनमा देखिएको उत्तेजनाले झन् गम्भीर प्रश्न खडा गरेको उनको बुझाइ छ।
उनले अर्थमन्त्रीलाई भनेका छन्, ‘तपाईँको आलोचनामा सामग्री प्रस्तुत गर्ने मिडियाहरू ‘खोस्टाहरू’ होइनन् । कतिपय सीमाहरू होलान्, तर तिनीहरू लोकतन्त्रका पहरेदार हुन् । तपाईँले आर्थिक विधेयकमा ‘पेज सेटिङ’ गर्नु भयो भनेर होइन, संसद्को अवमूल्यन गर्दै ‘नीतिगत सेटिङ’ गर्नुभयो भनेर आलोचना भएको हो । तपाईँले गर्नुभएको परिवर्तनले राजस्व संरचनामा ठुलो फरक पारेको छ, र यसको लाभग्राही सीमित व्यक्ति या घराना छन् ।’
तर आफूबारे उठेका प्रश्नहरूको तथ्यसम्मत जवाफ दिनुको साटो व्यक्तिगत आरोपमा उत्रिएको भन्दै आपत्ति जनाए।
उनले थपेका छन्, ‘पत्रकारहरूलाई ‘माइक्रोसफ्ट वर्ड’ चलाउन नजानेका भन्दै उपहास गर्नु भयो र आलोचक सांसदहरूलाई ‘तिम्रो खैरियत छैन’ भन्ने शैलीमा धम्क्याउनु भयो । त्यस्तो कैफियत भएका कोही छन् भने कानुन सम्मत कारबाही गर्न कसले रोकेको छ र ? तर यस्तो उत्तेजनाले त तपाईँप्रति झन् गम्भीर प्रश्न खडा गर्छन्, होइन र ?’