पोर्चुगल । नेपालका लाखौं युवाजस्तै म पनि रोजगारी र उज्ज्वल भविष्यको खोजीमा विदेशिएको व्यक्ति हुँ। आफ्नो जन्मभूमि छोडेर परदेशमा पसिना बगाउनु कुनै रहर होइन, बाध्यता हो। देशमै सम्मानजनक रोजगारी, आयआर्जन र भविष्य निर्माणका अवसर उपलब्ध भएको भए सायद हामीमध्ये धेरैजना विदेशिनुपर्ने थिएन। आज पनि विदेशमा रहेका अधिकांश नेपालीको मन आफ्नै गाउँ, आफ्नै शहर र आफ्नै देशमै अडिएको छ।
यही सन्दर्भमा पछिल्लो समय घोराही उपमहानगरपालिकाको मेयर पदका आकांक्षी साहित्यकार, समाजसेवी तथा पत्रकार सबिन प्रियासन ले अगाडि सार्नुभएको विकास, उत्पादन र रोजगारी केन्द्रित अवधारणाबारे विभिन्न सञ्चार माध्यममार्फत जानकारी पाउने अवसर पाएँ। उहाँका विचार र योजनाले मलाई निकै प्रभावित बनाएका छन्।
विशेष गरी विदेशमा रहेका नेपालीको पूँजीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गराउने, कृषिमा आधारित उद्योग स्थापना गर्ने तथा स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने सोच आजको नेपालको आवश्यकता हो। नेपालले भोगिरहेको सबैभन्दा ठूलो समस्या बेरोजगारी र बढ्दो वैदेशिक पलायन हो। गाउँहरू रित्तिँदै गएका छन्, खेतबारी बाँझो हुँदै गएका छन् र उत्पादन घट्दै गएको छ। यस्तो अवस्थामा केवल भाषण र नाराले मात्र देश बन्दैन, उत्पादन र रोजगारीलाई केन्द्रमा राखेर ठोस योजना आवश्यक हुन्छ।
यदि विदेशमा रहेका नेपालीहरूको लगानीलाई कृषिमा आधारित उद्योग, प्रशोधन उद्योग, दुग्ध उद्योग, फलफूल उद्योग, जडीबुटी उद्योग तथा अन्य उत्पादनमूलक क्षेत्रमा आकर्षित गर्न सकियो भने यसले गाउँमै रोजगारी सिर्जना गर्ने, स्थानीय अर्थतन्त्र चलायमान बनाउने र युवाहरूको विदेशिने बाध्यता घटाउने काम गर्न सक्छ।
आज नेपालमा अरबौं रुपैयाँ रेमिट्यान्स भित्रिए पनि त्यसको ठूलो हिस्सा उपभोगमा खर्च भइरहेको छ। उत्पादन र उद्योगमा अपेक्षित लगानी हुन सकेको छैन। त्यसैले रेमिट्यान्सलाई उत्पादनसँग जोड्ने अवधारणा समयानुकूल र आवश्यक देखिन्छ।
म स्वयं घोराही उपमहानगरपालिका–४ गोग्ली निवासी हुँ। विदेशमा बसेर पनि आफ्नो गाउँ, समाज र नगरको विकासप्रति मेरो गहिरो चासो छ। देश बनाउन नयाँ सोच, नयाँ ऊर्जा र परिणाममुखी कार्यशैली आवश्यक छ भन्ने मेरो विश्वास छ। त्यसैले उत्पादन, उद्योग, रोजगारी र आत्मनिर्भरताको स्पष्ट दृष्टिकोण लिएर अगाडि बढ्न खोज्ने नेतृत्वप्रति मेरो समर्थन र शुभेच्छा छ।
विदेशमा रहेका लाखौं नेपालीहरूको चाहना पनि यही हो—उनीहरूको कमाइ केवल घरखर्चमा सीमित नहोस्, बरु देश निर्माणमा पनि उपयोग होस्। यदि लगानीको सुरक्षित वातावरण, स्पष्ट योजना र विश्वसनीय नेतृत्व प्राप्त भयो भने विदेशमा रहेका नेपालीहरू आफ्नो पूँजी, सीप र अनुभव नेपालमै लगानी गर्न तयार छन्।
उत्पादन, उद्योग, रोजगारी र आत्मनिर्भरतामा आधारित विकासको बहस स्थानीय तहदेखि राष्ट्रिय तहसम्म विस्तार हुन आवश्यक छ। देश बनाउने जिम्मेवारी कुनै एक व्यक्ति वा समूहको मात्र होइन, सम्पूर्ण नेपालीको साझा जिम्मेवारी हो।
यही भावनाका साथ म सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई विकास, उत्पादन र आत्मनिर्भरताको अभियानमा साथ दिन आग्रह गर्दछु। विदेशमा रहेका नेपालीहरूको अनुभव, सीप र पूँजीलाई देश निर्माणमा उपयोग गर्न सकियो भने नेपालले समृद्धिको नयाँ यात्रा सुरु गर्न सक्छ। म स्वयं पनि अवसर मिल्नेबित्तिकै नेपाल फर्केर यस्ता सकारात्मक अभियानहरूमा सहभागी हुने प्रतिबद्धता व्यक्त गर्दछु।
युवराज बस्नेत
हाल: पोर्चुगल