रास्वपा महाधिवेशनमा ओली–गगनसहित शीर्ष नेताहरू आमन्त्रित

बाँके । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी ७ देखि ९ असारसम्म चितवनमा हुने आफ्नो प्रथम ऐतिहासिक महाधिवेशनमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई विशिष्ट अतिथिका रूपमा आमन्त्रण गरेको छ।

Ncell

पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ), जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई उद्घाटन सत्रमा शुभकामना मन्तव्यका लागि निमन्त्रणा पठाइएको छ।

Extreme Energy

भरतपुर–१० स्थित गेष्टहाउस चौरमा ७ असार दिउँसो १ बजे सुरु हुने उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका नेताहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

महामन्त्री बुर्लाकोटीले केही नेताहरूबाट उपस्थितिको पुष्टि समेत प्राप्त भइसकेको जानकारी दिएका छन्। “हामीले विशिष्ट अतिथिका रूपमा उहाँहरूलाई आमन्त्रण गरेका छौँ। पत्र पठाइसकेका छौँ र केहीको कन्फर्मेसन पनि आइसकेको छ,” उनले भने।

Suryanepal

महाधिवेशनको उद्घाटन सत्रमा रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। पार्टीका अन्य नेताहरूले पनि महाधिवेशनलाई सम्बोधन गर्नेछन्।

रास्वपाको पहिलो महाधिवेशनलाई पार्टीको संगठनात्मक सुदृढीकरण र भावी राजनीतिक रणनीति तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस