बाँके । नेपालगञ्जमा क्रिकेट स्टेडियम र रंगशाला स्तरोन्नतिको योजना बजेटमा परेपछि राजनीतिक दलका नेताहरूबीच श्रेय लिने होडबाजी सुरु भएको छ। निर्माण कार्य सुरु हुनुअघि नै विभिन्न दलका नेताहरूले योजनालाई आफ्नो पहलको परिणाम भन्दै सार्वजनिक अभिव्यक्ति दिन थालेका छन्।
आर्थिक वर्ष २०८३/०८४ को बजेटमा नेपालगञ्ज क्रिकेट स्टेडियम निर्माण तथा रंगशालामा फ्लडलाइटसहित प्यारापिट निर्माणका कार्यक्रम समावेश भएपछि श्रेयको राजनीतिले चर्चा पाएको हो।
बाँके क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राईले नेपालगञ्ज क्रिकेट स्टेडियम आफ्नो निरन्तर पहल र समन्वयका कारण बजेटमा परेको दाबी गरेका छन्। उनले सम्बन्धित निकायसँगको निरन्तर संवाद र दबाबकै कारण योजना कार्यान्वयनको चरणमा पुगेको भन्दै स्थानीयलाई ढुक्क हुन आग्रह गरेका छन्।
यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बिबेक कुमार श्रेष्ठले नेपालगञ्ज रंगशालामा फ्लडलाइटसहित प्यारापिट निर्माणको योजना आफ्नो सक्रियताका कारण सम्भव भएको दाबी गरेका छन्। खेलकुद पूर्वाधार विकासका विषयमा आफूले लामो समयदेखि आवाज उठाउँदै आएको उनको भनाइ छ।
खेलकुद विकासको नाममा नेताहरूबीच श्रेय लिने प्रतिस्पर्धा चर्किए पनि स्थानीयवासी र खेलकर्मीहरू भने परिणाममुखी कामको प्रतीक्षामा छन्। उनीहरूका अनुसार बजेटमा योजना समावेश हुनु सकारात्मक भए पनि वास्तविक उपलब्धि निर्माण सम्पन्न भएपछि मात्र देखिनेछ।
नेपालगञ्जका खेलप्रेमीहरू भन्छन्, “श्रेय कसले लिने भन्नेभन्दा पनि वर्षौंदेखि कागजमै सीमित पूर्वाधार कहिले बन्छ भन्ने महत्वपूर्ण हो।
विगतमा पनि नेपालगञ्जका विभिन्न विकास आयोजनाहरू बजेटमा परेपछि नेताहरूले श्रेय लिने प्रतिस्पर्धा गरेका थिए। तर कतिपय योजना कार्यान्वयनमै नपुगी अलपत्र परेका उदाहरणहरू प्रशस्त छन्। त्यसैले यसपटक पनि घोषणा र दाबीभन्दा कार्यान्वयनलाई नै स्थानीयले प्राथमिकतामा राखेका छन्।
खेलकर्मीहरूका अनुसार क्रिकेट स्टेडियम र रंगशालाको स्तरोन्नति समयमै सम्पन्न भए बाँकेको खेलकुद क्षेत्रले नयाँ गति पाउनेछ। तर निर्माण सुरु नहुँदै श्रेयको राजनीति सुरु हुनु भने विकासभन्दा प्रचारलाई प्राथमिकता दिएको सन्देशका रूपमा हेरिएको छ।
स्थानीयको एउटै प्रश्न छ स्टेडियम कसको पहलमा बन्यो भन्ने होइन, कहिले बन्छ र खेलाडीले कहिले उपयोग गर्न पाउँछन्?