हिंसा विरुद्ध बोलौं, पीडितको पक्षमा उभिऔं

बाँके । अहिले हाम्रो गाउँघर र समाजमा, देशका विभिन्न ठाउँमा छोरी, आमा र दिदीबहिनीहरूमाथि हुने विभिन्न प्रकारका हिंसा, हत्या, बलात्कार जस्ता जघन्य अपराधका समाचारहरू दिनहुँ सुन्न पाइन्छ। घरभित्रदेखि बाहिरसम्म, आफ्नै परिवारका सदस्य, नजिकका आफन्त, शिक्षक वा जीवनसाथीबाट समेत यौन दुर्व्यवहारमा परेर पीडित बनाइएका समाचारले हाम्रो मन चकित र आक्रोशित बनाउँछ।

सोच्ने विषय के हो भने – यस्तो अमानवीयता, हृदयहीनता र संवेदनाहीनता मानव मनमा कसरी जाग्दो हो? तर दु:खको कुरा हाम्रो समाज प्रायः पीडितको पक्षमा उभिनुको साटो, अपराधीप्रति केही कमजोर चेतनासाथ बोल्न रुचाउँछ। यस प्रकारको सोच, नैतिक हरामखोरहरूसँग सम्बन्धित छ, जुन शक्ति, पद वा पार्टीमा आबद्ध भए पनि सधैं निन्दा र आलोचनाका पात्र हुन्।

त्यसैगरी, बहुलबादी समाजमा प्रत्येक व्यक्तिले कुनै पनि राजनीतिक पार्टीप्रति आस्था राख्न, त्यसको नीति, नेतृत्व र निर्णयलाई स्वीकार गर्न स्वतन्त्र हुनु स्वाभाविक हो। एउटै घटनाप्रति फरक व्यक्तिलाई फरक धारणा हुनु सामान्य हो। फरक दृष्टिकोण, जन्म, हुर्काइ, शैक्षिक र राजनीतिक वातावरण, जीवन अनुभव र निश्चित स्वार्थसँग सम्बन्धित हुन्छ। तर फरक मत राख्ने व्यक्तिको निजि जीवनलाई सार्वजनिक रुपमा अपमानित, घृणा र मानमर्दन गर्ने कार्य असभ्य, बेसोमत र कानुनी रुपमा दण्डनीय छ।
हालसालै, नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा झापा निवासी रेणुका बरालले दिएको टिप्पणीप्रति असहमति प्रकट गर्दा सार्वजनिक गाली, बेइज्जती र धम्कीका समाचार सुन्नमा आएका छन्। त्यसैगरी, भक्तपुर निवासी अमिशा पराजुलीले पनि पार्टी नेतृत्वप्रति आस्था राख्दै व्यक्त गरेको असहमतिको स्वरलाई लिएर उनलाई पनि सार्वजनिक रूपमा अपमान, मानमर्दन र बलात्कार धम्की दिइएको छ।

कुनै व्यक्तिको पार्टी प्रति आस्था वा असहमति राखेको कारणले उसलाई पीडित बनाउनु, मनोबल गिराउनु र जघन्य अपराधको धम्की दिनु स्वीकार्य छैन। यस्तो व्यवहार प्रति हामी गहिरो खेद प्रकट गर्दछौं। हामी पीडितका पक्षमा उभिनुपर्छ, अपराध र धम्कीको विरोध गर्नुपर्छ, र न्यायका लागि आफ्नो आवाज बुलन्द गर्नुपर्छ।
सारांशमा भन्नुपर्दा, हिंसा, धम्की र अपमानका बिरूद्ध बोल्नु मात्र आवश्यक छैन; पीडितको पक्षमा ऐक्यबद्धता देखाउनु, न्यायको लागि आवाज उठाउनु नै हाम्रो सामाजिक जिम्मेवारी हो। हामीले जहाँ सत्य छ, त्यहीं उभिनुपर्छ, र जहाँ अन्याय छ, त्यहाँ विरोध गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस