राप्ती सोनारी–८ मा लागूऔषध र तस्करीविरुद्ध युवा सक्रिय, प्रशासनलाई ज्ञापनपत्र

बाँके। राप्ती सोनारी गाउँपालिका–८ मा लागूऔषध दुरुपयोग, चोरी तथा तस्करीका घटना बढ्दै गएपछि स्थानीय युवाहरू नियन्त्रणका लागि सक्रिय भएका छन्।
श्री शमशेरगञ्ज युवा क्लबको अगुवाइमा युवाहरूले जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै आपराधिक गतिविधि न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न माग गरेका छन्।

क्लबका अध्यक्ष दीपक रावतका अनुसार पछिल्लो समय लागूऔषधको प्रयोग, अवैध कारोबार तथा चोरी–तस्करीका घटनाहरू तीव्र रूपमा बढ्दै गएका छन्। यस्ता गतिविधिले व्यक्तिको जीवनसँगै समाजको शान्ति र सुरक्षामै गम्भीर असर पारिरहेको उनले बताए।
उनले अभिभावक, दाजुभाइ तथा युवायुवतीलाई सचेत रहन आग्रह गर्दै कुलतमा फसेकाहरूलाई सुधार्न सामूहिक पहल आवश्यक रहेको उल्लेख गरे। “समाजलाई सही दिशामा लैजान युवाहरूको सक्रिय भूमिका अपरिहार्य हुन्छ,” रावतले भने।

युवाहरूले लागूऔषधको आपूर्ति नियन्त्रण गर्न, बाहिरी क्षेत्रबाट हुने चोरी–तस्करी रोक्न तथा निगरानी प्रणालीलाई थप कडाइका साथ कार्यान्वयन गर्न प्रशासनसँग माग गरेका छन्।

स्थानीयस्तरमा युवाहरूको यो पहललाई सकारात्मक र अनुकरणीय प्रयासका रूपमा हेरिएको छ। शमशेरगञ्ज युवा क्लबको नेतृत्वमा सुरु भएको अभियानले सामाजिक विकृति नियन्त्रण र सचेतना अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस