दाङ । तुलसीपुर नगर क्षेत्रमा खेलकुदको समग्र विकास र सरोकारका विषयलाई संस्थागत ढंगले अघि बढाउने उद्देश्यसहित गठन गरिएको तुलसीपुर नगर स्तरीय खेलकुद सरोकार समितिको संयोजकमा पूर्व राष्ट्रिय फुटबल खेलाडी सुधिर गुरुङ चयन भएका छन्। तुलसीपुरमा सम्पन्न आम भेलाले गुरुङको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको हो।
समितिको सचिवमा लक्ष्मण बस्नेत चयन भएका छन्। सदस्यहरूमा लालबहादुर केसी, आशिष कुमार श्रेष्ठ, वसन्त गिरि, प्रीति बहादुर गिरि, डम्बर भण्डारी, खिम घर्तिमगर, उषा कवर, रुपेश शर्मा र सुरेन्द्र सिंह राठौर रहेका छन्। त्यस्तै, समितिको सल्लाहकारमा टेकबहादुर बिक, मानबहादुर गोल्डस्मिथ र पद्मा चौधरी चयन भएका छन्। कानुनी सल्लाहकारमा रामशरण चौधरी तथा प्रेस सल्लाहकारमा नारायण खड्का चयन गरिएको छ।
पूर्व राष्ट्रिय फुटबल खेलाडी सुधिर गुरुङको अध्यक्षतामा सम्पन्न भेलामा वक्ताहरूले तुलसीपुर नगरको खेलकुद इतिहास दशकौँ पुरानो भए पनि अपेक्षाकृत रूपमा विकास हुन नसकेको धारणा व्यक्त गरे। खेलकुद गतिविधि परम्परागत र औपचारिकतामै सीमित हुनु, खेलप्रतिको दृष्टिकोण फराकिलो नहुनु तथा स्थानीय सरकार र सम्बन्धित निकायको पर्याप्त चासो अभावका कारण समग्र खेलकुद क्षेत्र पछि परेको उनीहरूको भनाइ थियो। नवगठित समितिले नगर क्षेत्रमा स्थापित सबै विधागत खेलको समान अस्तित्व र पहिचान सुनिश्चित गर्दै समग्र खेलकुद विकासका सवालमा समन्वय, पहल र दबाबमूलक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।
भेलामा तुलसीपुर नगर क्षेत्रमा क्रियाशील विभिन्न विधाका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक, पूर्व खेलाडी, स्वयंसेवक प्रशिक्षक, खेलप्रेमी तथा शुभचिन्तक गरी ५१ जनाको सहभागिता रहेको थियो।