बाँकेमा ६ हजार किशोरीलाई एचपिभी खोप लगाइँदै

बाँके । बाँकेमा पाठेघरको मुखको क्यान्सरबाट बचाउन करिब ६ हजार किशोरीलाई लक्षित गरी ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) विरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार आगामी भदौ ३० गतेदेखि जिल्लाभर एचपिभी खोप अभियान सुरु गरिनेछ। स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलले अभियानअन्तर्गत जिल्लाका आठवटै स्थानीय तहमा खोप सेवा सञ्चालन गरिने जानकारी दिइन्।

उनका अनुसार खोप अभियानको सुरुआत स्थानीय तहअन्तर्गत रहेका विद्यालयबाट गरिनेछ। विशेषगरी कक्षा ६ मा अध्ययनरत किशोरीलाई प्राथमिकतामा राखेर खोप लगाइनेछ। विद्यालयमा अध्ययनरत लक्षित किशोरीलाई खोप लगाएपछि समुदायस्तरमा रहेका १० वर्ष उमेरका किशोरीलाई पनि खोप प्रदान गरिनेछ।

खोप अभियानलाई प्रभावकारी र व्यवस्थित बनाउन स्थानीय तह, विद्यालय तथा सम्बन्धित स्वास्थ्य संस्थाबीच आवश्यक समन्वय गर्ने विषयमा छलफल गरिएको छ। अभियान सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन, खोप केन्द्र निर्धारण तथा लक्षित समूहसम्म सूचना प्रवाहलगायत तयारीलाई तीव्र बनाइने स्वास्थ्य कार्यालयले जनाएको छ।

एचपिभी खोप पाठेघरको मुखको क्यान्सरको जोखिम कम गर्न महत्वपूर्ण मानिन्छ। एचपिभी भाइरस संक्रमणले पाठेघरको मुखको क्यान्सर गराउन सक्ने भएकाले किशोरी अवस्थामै खोप लगाउँदा संक्रमणबाट प्रभावकारी सुरक्षा प्राप्त हुने स्वास्थ्यकर्मीहरूले बताएका छन्।

क्यान्सरको रोकथामका लागि दिइने यो खोप एक पटक मात्रै लगाइने जनाइएको छ।

जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीको अध्यक्षतामा आज बसेको बैठकले जिल्लाभर एचपिभी खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस