भोटेकोशीमा संकट कायमै, अपराह्नपछि फेरि वर्षाको सम्भावना

बाँके । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा संकट कायमै रहेका बेला आज अपराह्नपछि फेरि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेका अनुसार भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत आसपासका क्षेत्रमा आज अपराह्नपछि मध्यमसम्म वर्षा हुन सक्नेछ।

विभागका अनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा सिन्धुपाल्चोकको नोस्यामपाटीस्थित मौसम मापन केन्द्रमा ६०.२ मिलिमिटर मापन भएको छ। यस अवधिमा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भएको छ भने कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएको जनाएको छ।

विभागले आज दिउँसो देशभर सामान्यतया बदली रहने जनाएको छ। हिमाली भूभागका केही तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

त्यसैगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्ने विभागले जनाएको छ।

बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कोशी प्रदेशको हिमाली भूभाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राति पनि देशभर सामान्यतया बदली रहने पूर्वानुमान गरिएको छ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपात हुन सक्नेछ भने तराईका थोरै स्थानमा पनि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ। राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

उद्धारमा थप चुनौती

यसैबीच, निरन्तर वर्षाका कारण भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धारकार्यमा चुनौती थपिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीका अनुसार रातभर परेको वर्षाका कारण टनेलभित्र पानी भरिँदा खोज तथा उद्धारकार्य प्रभावित भएको हो।

उनका अनुसार टनेलमा पानी भरिएपछि पानी तान्ने पम्पसमेत डुबेको थियो। सुरक्षाकर्मीले पम्प निकालेर टनेलभित्र जमेको पानी तान्ने काम गरिरहेका छन्।

‘बिहानैदेखि खोजी कार्य सुरु गरिएको छ। तर रातभरको वर्षाले टनेलभित्र पानी भरिँदा पानी तान्ने पम्पसमेत छोपिएको थियो। सुरक्षाकर्मीले त्यसलाई निकालेर पानी तान्ने काम गरिरहेका छन्,’ उप्रेतीले भने।

जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म वर्षाको सम्भावना रहेको जनाएको छ। लगातार वर्षा भए बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा अन्य व्यवस्थापनका काममा थप चुनौती आउन सक्ने भन्दै प्राधिकरणले आवश्यक सतर्कता अपनाइएको जनाएको छ।

बाढीबाट प्रभावित क्षेत्रमा उद्धार र खोजी कार्य जारी रहेका बेला फेरि वर्षा हुने सम्भावनाले जोखिम थप बढ्न सक्ने भन्दै सरोकारवाला निकायले उच्च सतर्कता अपनाएका छन्।

प्रतिक्रिया दिनुहोस