बाँके । दाङको तुलसीपुर उपमहानगरपालिका–१३, फुलबारीस्थित ढुङ्गेघाट यतिबेला आफ्नो अनुपम प्राकृतिक सौन्दर्यका कारण धेरैको ध्यान आकर्षित गरिरहेको छ। चारैतिर हरियाली वनजंगल, बीचमा फराकिलो समथर फाँट र वरिपरि पहाडहरूको प्राकृतिक घेराले यो क्षेत्रलाई पश्चिम नेपालको प्रसिद्ध ढोरपाटनको झल्को दिने गन्तव्यका रूपमा चिनाउन थालेको छ।
प्रकृतिको अनुपम उपहार मानिने यस क्षेत्रलाई स्थानीयवासीले दाङको “तेस्रो उपत्यका” का रूपमा समेत चिन्ने गरेका छन्। मौसमअनुसार फेरिने हरियाली, शान्त वातावरण र मनै लोभ्याउने दृश्यले यहाँ पुग्ने जो–कोहीलाई केही समय प्रकृतिको काखमा हराउन बाध्य बनाउँछ। पछिल्लो समय सामाजिक सञ्जालमार्फत ढुङ्गेघाटको सौन्दर्य बाहिर आउन थालेपछि यसप्रति चासो बढ्दै गएको छ।
तुलसीपुर–१३ का वडा अध्यक्ष मोहन पौडेलका अनुसार ढुङ्गेघाट प्राकृतिक सौन्दर्यले भरिपूर्ण क्षेत्र भएकाले यसको संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा विशेष ध्यान दिन आवश्यक छ। उहाँ भन्नुहुन्छ, “ढुङ्गेघाट दाङको एउटा सम्भावनायुक्त प्राकृतिक गन्तव्य हो। यहाँको मौलिकता जोगाउँदै आवश्यक पूर्वाधार निर्माण र प्रचारप्रसार गर्न सके यसले स्थानीय पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्याउन सक्छ। यो क्षेत्र दाङको मात्र नभई लुम्बिनी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्ने सम्भावना बोकेको छ।”
उहाँका अनुसार प्राकृतिक सम्पदा संरक्षणसँगै आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सके स्थानीयको आर्थिक गतिविधिमा समेत टेवा पुग्ने विश्वास गरिएको छ। खुला फाँट, वन क्षेत्र र पहाडी दृश्यावलोकनका कारण ढुङ्गेघाट पिकनिक, पदयात्रा, फोटोग्राफी तथा प्रकृतिसँग रमाउन चाहनेहरूका लागि उपयुक्त गन्तव्य बन्न सक्ने देखिन्छ।
प्रकृतिले खुलेर सिंगारेको ढुङ्गेघाट अहिले पनि आफ्नो मौलिक स्वरूपमा अवस्थित छ। संरक्षण, प्रवर्द्धन र योजनाबद्ध विकास हुन सके दाङको पर्यटन नक्सामा यो क्षेत्र नयाँ आकर्षणका रूपमा स्थापित हुने स्थानीयको अपेक्षा छ।