बाँके । तराईका जिल्लामा गर्मीको प्रकोप दिनप्रतिदिन बढ्दै छ। चर्को घाम र बढ्दो तापक्रमका बीच मानिसहरू शरीरलाई शीतल राख्ने उपाय खोजिरहेका छन्। आधुनिक प्रविधिको पहुँच बढे पनि धेरैको रोजाइ अझै पनि परम्परागत माटोको गाग्री र सुराही नै बनेको छ। माटोको भाँडोमा राखिएको पानी प्राकृतिक रूपमा चिसो हुने, स्वादिलो लाग्ने र स्वास्थ्यका लागि लाभदायी मानिने भएकाले यसको प्रयोग फेरि बढ्न थालेको छ।
नेपालगञ्जका बजार तथा बस्तीहरूमा अहिले माटोका भाँडाको माग बढेको देखिन्छ। फ्रिजको अत्यधिक चिसो पानीभन्दा माटोको भाँडोमा राखिएको पानी पिउन सहज हुने विश्वासले धेरै उपभोक्ता आकर्षित भएका छन्। विशेषगरी गर्मी मौसममा माटोको गाग्री घरको अनिवार्य सामग्रीजस्तै बन्न थालेको छ।
तर उपभोक्ताको यो बढ्दो आकर्षणको पछाडि एउटा पीडादायी यथार्थ पनि लुकेको छ। घर–घरमा माटोको गाग्रीको माग बढिरहेका बेला ती गाग्री बनाउने कुम्हाल समुदाय भने माटो अभावको समस्याले थलिएको छ। भाँडा बनाउन आवश्यक कच्चा पदार्थ नै नपाउँदा उनीहरूको उत्पादन रोकिएको छ र परम्परागत पेशा संकटमा परेको छ।
नेपालगञ्जमा बसोबास गर्ने करिब १७० कुम्हाल परिवारमध्ये झण्डै १५० परिवार माटोका भाँडा निर्माणमै निर्भर छन्। पुस्तौंदेखि चलिआएको यही पेशाले उनीहरूको जीविकोपार्जन धानेको छ। तर अहिले अवस्था फेरिएको छ। भाँडा बनाउने सीप र श्रम भए पनि माटो नपाउँदा उनीहरू कामविहीन बन्न थालेका छन्।
कुम्हाल समुदायका रमेश कुम्हालका अनुसार स्थानीय सरकारले कानुनी प्रक्रिया पूरा नभएको कारण देखाउँदै माटो उपलब्ध गराउन सकेको छैन। प्रशासनले पनि विभिन्न कारण देखाएर माटो निकाल्न अनुमति नदिँदा समुदाय समस्यामा परेको छ।
“हामीलाई सबैभन्दा आवश्यक वस्तु नै माटो हो,” उहाँ भन्नुहुन्छ, “उपमहानगरपालिकाले कानुन बनेपछि मात्र माटो दिने भन्छ, प्रशासनले मोहर्रमपछि मात्र व्यवस्था गर्ने बताउँछ। तर त्यतिबेलासम्म हाम्रो परिवार कसरी चलाउने ?”
उहाँका अनुसार पहिले दुई ट्राली माटोले वर्षभरि पुग्ने भाँडा उत्पादन गर्न सकिन्थ्यो। त्यही उत्पादन बेचेर परिवारको खर्च धानिन्थ्यो। अहिले माटोको अभावले उत्पादन नै ठप्प भएको छ। आम्दानीको स्रोत बन्द हुँदा धेरै परिवार आर्थिक समस्यामा परेका छन्।
गर्मीको मौसम कुम्हाल समुदायका लागि आम्दानी गर्ने मुख्य समय हो। यही बेला माटोका भाँडाको बिक्री बढ्ने भएकाले उनीहरूले वर्षभरिका लागि केही बचत गर्न सक्थे। तर यसपटक माग उच्च भए पनि उत्पादन गर्न नसक्दा अवसर हातबाट फुत्किएको छ।
स्थानीय उपभोक्ताहरू भने माटोको भाँडोलाई केवल परम्परागत वस्तुका रूपमा मात्र होइन, स्वास्थ्यसँग जोडिएको जीवनशैलीका रूपमा पनि हेर्न थालेका छन्। माटोको भाँडोले पानीलाई स्वाभाविक रूपमा चिसो बनाउने, स्वादमा ताजापन दिने र वातावरणमैत्री विकल्प प्रदान गर्ने भएकाले यसको प्रयोग पुनः बढ्न थालेको छ।
यद्यपि, माग बढ्दै जानु र उत्पादन घट्दै जानु दीर्घकालीन रूपमा चिन्ताको विषय बनेको छ। कुम्हाल समुदायका अगुवाहरू भन्छन्, समयमै माटोको व्यवस्था, कानुनी सहजीकरण र पेशागत संरक्षणका कार्यक्रम लागू नभए यो परम्परागत पेशा लोप हुने खतरा बढ्नेछ।
माटोको गाग्री केवल पानी राख्ने भाँडो मात्र होइन, नेपाली समाजको परम्परा, संस्कृति र श्रमको प्रतीक पनि हो। तर आज त्यही परम्परा जोगाइराख्ने हातहरू नै माटोको खोजीमा भौंतारिन बाध्य छन्। गर्मीमा चिसो पानीको स्वाद खोज्ने समाजले अब त्यो स्वाद सम्भव बनाउने कुम्हाल समुदायको पीडातर्फ पनि ध्यान दिन आवश्यक देखिन्छ। किनकि कुम्हालका हातमा माटो नपुग्ने हो भने भोलिका दिनमा घर–घरका गाग्रीहरू पनि इतिहासका पानामा सीमित हुन सक्छन्।