पद्मोदयको गौरव जोगाऔँ, भविष्य अझ उज्यालो बनाऔँ

दाङ । पद्मदेव पब्लिक नमुना माध्यमिक विद्यालय (पद्मोदय) लाई भौतिक पूर्वाधारमा मात्र सीमित नराखी गुणस्तरीय, सीपयुक्त र नैतिक जनशक्ति उत्पादन गर्ने नेपालकै अग्रणी शैक्षिक संस्थाका रूपमा विकास गर्न सबै पक्षको साझा सहकार्य आवश्यक रहेको औँल्याइएको छ।

पद्मोदयका पूर्वविद्यार्थी तथा लेखक सबिन प्रियासन ले विद्यालयको गौरवशाली इतिहासलाई जोगाउँदै भविष्यलाई अझ उज्यालो बनाउन विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, पूर्वविद्यार्थी, स्थानीय सरकार र समुदायबीच बलियो सहकार्य अपरिहार्य रहेको बताएका छन्।

उनका अनुसार साविक राप्ती अञ्चलकै सबैभन्दा पुरानो शैक्षिक संस्थामध्ये एक पद्मोदयले दशकौँदेखि हजारौँ दक्ष जनशक्ति उत्पादन गर्दै समाज र राष्ट्र निर्माणमा उल्लेखनीय योगदान पुर्‍याएको छ। यही कारण पद्मोदय केवल एउटा विद्यालय नभई दाङको शैक्षिक गौरव र पहिचान बनेको उनको भनाइ छ।

उनले विद्यालयले भौतिक पूर्वाधारमा उल्लेखनीय प्रगति गरे पनि अबको प्राथमिकता गुणस्तरीय शिक्षा, प्रविधिमैत्री सिकाइ, अनुसन्धान, नवप्रवर्तन, सीपमूलक शिक्षा, खेलकुद, कला, साहित्य र नैतिक शिक्षाको विकासमा केन्द्रित हुनुपर्ने बताए।

“आज सफल विद्यालयको पहिचान भवनले होइन, त्यहाँबाट उत्पादन भएका सक्षम, जिम्मेवार र नैतिक नागरिकले निर्धारण गर्छन्,” उनले उल्लेख गरेका छन्।

भर्खरै नयाँ विद्यालय व्यवस्थापन समिति गठन भएको सन्दर्भमा उनले नयाँ नेतृत्वले पारदर्शिता, सुशासन, उत्तरदायित्व र सहकार्यको संस्कृतिलाई संस्थागत गर्दै विद्यालयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकास गर्न दीर्घकालीन योजना बनाउनुपर्ने धारणा राखेका छन्।

प्रियासनले स्थानीय सरकार तथा सम्बन्धित निकायले पनि ऐतिहासिक सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि पर्याप्त बजेट, प्रविधि, अनुसन्धान, तालिम र पूर्वाधारमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन्।

पूर्वविद्यार्थीहरूको भूमिका पनि विद्यालय विकासमा महत्वपूर्ण हुने उल्लेख गर्दै उनले आर्थिक सहयोग, छात्रवृत्ति, करियर परामर्श, सीप विकास तथा अनुभव आदानप्रदानमार्फत विद्यालयलाई थप सशक्त बनाउन सकिने बताएका छन्।

आफू पनि पद्मोदयकै पूर्वविद्यार्थी भएको उल्लेख गर्दै प्रियासनले विद्यालयको समग्र विकास र शैक्षिक उत्कृष्टताका लागि आवश्यक साथ, सहयोग र सुझाव दिन सधैं तयार रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले पद्मोदयलाई केवल भौतिक रूपमा सम्पन्न विद्यालय नभई आधुनिक ज्ञान, वैज्ञानिक सोच, प्रविधिमैत्री सीप, उच्च नैतिकता र राष्ट्रप्रेमले भरिपूर्ण जनशक्ति उत्पादन गर्ने नेपालकै अग्रणी नमुना विद्यालय बनाउने अभियानमा सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस