हेकुलीले पर्खिरहेको हाटबजार : दंगिशरणको अर्थतन्त्र बदल्ने सम्भावना

दाङ, दंगिशरण । दंगिशरण गाउँपालिकाको हेकुली क्षेत्र बिहानैदेखि चलायमान देखिन्छ। सडक किनारमा तरकारी बोकेका किसान भेटिन्छन्, कतै दूध लिएर बजारतिर हिँडेका मानिसहरू देखिन्छन्, कतै गाउँबाट आएका महिलाहरू दैनिक उपभोग्य सामग्री किनमेलमा व्यस्त हुन्छन्। विभिन्न वडाबाट आउने–जाने स्थानीयको चहलपहलले हेकुलीलाई स्वाभाविक रूपमा व्यापारिक सम्भावना बोकेको क्षेत्र बनाएको छ।

तर यति धेरै गतिविधिको केन्द्रजस्तो देखिने हेकुलीमा आजसम्म व्यवस्थित हाटबजार छैन। न त किसानले आफ्ना उत्पादन नियमित रूपमा बिक्री गर्न सक्ने साझा व्यापारिक स्थल छ, न स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने स्थायी संरचना। गाउँपालिकाभित्र उत्पादन भइरहेका कृषि उपज, पशुपालनजन्य सामग्री तथा घरेलु उत्पादनहरू अझै पनि बिखण्डित बजार प्रणालीमै सीमित छन्।

दंगिशरणका धेरै किसान अहिले पनि आफ्ना उत्पादन बिक्री गर्न घोराही, तुलसीपुर वा अन्य बाहिरी बजार धाउन बाध्य छन्। कतिपयले गाउँमै आउने बिचौलियालाई कम मूल्यमा उत्पादन बेच्नुपर्छ। कतिपय अवस्थामा उत्पादनले उचित बजार नपाउँदा किसान निराश बन्ने गरेका छन्।

“उत्पादन त हुन्छ, बेच्ने भरपर्दो ठाउँ छैन,” स्थानीय किसानहरूको गुनासो छ। “बजार अभावकै कारण मेहनतअनुसारको मूल्य पाउन सकेका छैनौं,” उनीहरू भन्छन्।

दंगिशरण–३ रावतगाउँका गौरीशंकर चौधरी भन्छन्, “तरकारी उत्पादन राम्रो हुन्छ, तर बिक्री गर्ने निश्चित ठाउँ छैन। गाउँमै व्यवस्थित हाटबजार भए किसानलाई धेरै सहज हुन्थ्यो।”

त्यस्तै दंगिशरण–१ की निमा कुमारी बस्नेतको पनि उस्तै गुनासो छ। “बिचौलियालाई सस्तोमा बेच्नुपर्ने बाध्यता छ,” उनले भनिन्, “यदि स्थानीय स्तरमै बजारको व्यवस्था भयो भने किसानले मेहनतअनुसारको मूल्य पाउन सक्छन्।”

स्थानीय किसानहरूका अनुसार समस्या उत्पादनको होइन, बजार व्यवस्थापनको हो।

उत्पादन बढ्यो, बजार अझै बनेन

पछिल्ला वर्षहरूमा दंगिशरण गाउँपालिकामा कृषि उत्पादन विस्तारै व्यवसायिक बन्दै गएको स्थानीयहरू बताउँछन्। तरकारी खेती, पशुपालन, कुखुरापालन, बङ्गुरपालन, मौरीपालन तथा फलफूल उत्पादनमा धेरै किसान आकर्षित भइरहेका छन्। कतिपय युवा वैदेशिक रोजगारीबाट फर्किएर कृषि क्षेत्रमा जोडिन थालेका छन्। महिला समूहहरूले अचार, मसला, घरेलु परिकार तथा हस्तकला उत्पादन गरिरहेका छन्।

तर उत्पादनसँगै बजार संरचना विकास हुन सकेको छैन। ग्रामीण क्षेत्रमा कृषि उत्पादन बढे पनि बजार अभावका कारण किसानले त्यसको प्रत्यक्ष लाभ लिन नसक्ने समस्या पुरानै हो। दंगिशरण पनि त्यही यथार्थबाट अलग छैन।

स्थानीय कृषकहरूका अनुसार उत्पादन तयार भएपछि सबैभन्दा ठूलो चुनौती बिक्री हो। “उत्पादन खेतमा हुन्छ, मूल्य बजारले तय गर्छ,” स्थानीय किसानहरू भन्छन्। “तर बजारसम्म हाम्रो पहुँच कमजोर छ।”

उनीहरूका अनुसार यदि स्थानीय स्तरमै व्यवस्थित हाटबजार सञ्चालन गर्न सकियो भने किसानले आफ्ना उत्पादन प्रत्यक्ष रूपमा बिक्री गर्न सक्नेछन्। यसले बिचौलियामाथिको निर्भरता कम गर्न सक्छ।

हेकुली किन बन्न सक्छ व्यापारिक केन्द्र ?

स्थानीयका अनुसार हेकुली भौगोलिक हिसाबले दंगिशरणका विभिन्न वडालाई जोड्ने उपयुक्त क्षेत्र हो। सडक पहुँच, स्थानीय आवतजावत र व्यापारिक सम्भावनाका कारण यहाँ नियमित हाटबजार सञ्चालन गर्न सकिने आधार रहेको उनीहरूको भनाइ छ।

दंगिशरण गाउँपालिकाका विभिन्न वडाबाट आउने उत्पादनलाई एउटै व्यापारिक केन्द्रमा जोड्न सकिने सम्भावना हेकुलीसँग रहेको स्थानीय बताउँछन्। यदि व्यवस्थित हाटबजार स्थापना गर्न सकियो भने गाउँपालिकाका सातवटै वडाबाट उत्पादन हुने कृषि तथा घरेलु सामग्रीलाई एउटै केन्द्रमा ल्याउन सकिनेछ। यसले किसान, व्यापारी र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्न मद्दत पुर्‍याउन सक्छ।

अहिले किसानले उत्पादन बेच्न बाहिरी बजार धाउनुपर्ने बाध्यता कम हुन सक्छ भने स्थानीय उपभोक्ताले गाउँभित्रै आवश्यक सामग्री सहज रूपमा पाउन सक्नेछन्। स्थानीय स्तरमै व्यापारिक गतिविधि विस्तार हुँदा गाउँभित्र आर्थिक चलायमानता बढ्ने अपेक्षा गरिएको छ।

स्थानीय उत्पादन स्थानीय उपभोगसँग जोडिँदा गाउँभित्रै पैसाको प्रवाह बढ्नेछ। किसानले आम्दानी गर्नेछन्, व्यापारीले व्यापार गर्नेछन्, ढुवानी सेवा विस्तार हुनेछ र सेवा क्षेत्रले पनि लाभ पाउनेछ।

किसान अझै असुरक्षित

दंगिशरणका किसानहरू उत्पादन गर्न सक्ने अवस्थामा छन्, तर बजारको अनिश्चितताले उनीहरूलाई अझै असुरक्षित बनाइरहेको छ। बीउ, मल, सिँचाइ र श्रममा लगानी गरेपछि किसानले उत्पादन त गर्छन्, तर बजार अभावका कारण धेरैले अपेक्षित मूल्य पाउँदैनन्।

कतिपय अवस्थामा गाउँमै आउने व्यापारीले कम मूल्यमा उत्पादन किन्छन्। किसान तत्काल नगदको आवश्यकताले बाध्य भएर बिक्री गर्छन्। त्यसपछि त्यही उत्पादन बाहिरी बजारमा महँगो मूल्यमा बिक्री हुने गरेको स्थानीयको अनुभव छ।

“बिचौलियालाई सस्तोमा बेच्न बाध्य छौं,” स्थानीय किसानहरूको गुनासो छ। किसानहरूका अनुसार यदि हेकुलीमा व्यवस्थित हाटबजार सञ्चालन हुन सके मूल्य निर्धारण प्रक्रियामा उनीहरूको पहुँच बढ्न सक्छ।

स्थानीय कृषि क्षेत्रमा सक्रिय युवाहरू भन्छन्—बजार सुनिश्चित भए उत्पादन पनि बढ्छ। अहिले धेरै किसान जोखिमका कारण व्यवसायिक रूपमा विस्तार हुन डराइरहेका छन्।

युवापलायन रोक्ने सम्भावित आधार

दंगिशरणका धेरै युवा अहिले वैदेशिक रोजगारी वा शहरकेन्द्रित जीवनतर्फ आकर्षित छन्। गाउँमा श्रम गर्ने उमेर समूह क्रमशः घट्दै गएको छ। स्थानीय तहमा रोजगारी र उद्यमशीलताको अवसर कमजोर हुँदा पलायन बढिरहेको स्थानीयको बुझाइ छ।

तर व्यवस्थित हाटबजारले गाउँमै आर्थिक अवसर सिर्जना गर्न सक्ने सम्भावना रहेको जानकारहरू बताउँछन्। कृषि, पशुपालन, ढुवानी, होटल व्यवसाय, खुद्रा व्यापार, खाद्य प्रशोधन तथा सेवा क्षेत्रमा जोडिएर धेरै नयाँ अवसर सिर्जना हुन सक्छन्।

विशेषगरी स्थानीय उत्पादनसँग जोडिएका साना उद्यम तथा महिला समूहहरूका लागि हाटबजार महत्वपूर्ण प्लेटफर्म बन्न सक्छ। अहिले दंगिशरणका कतिपय महिलाहरू घरेलु उत्पादनमार्फत आम्दानी गरिरहेका छन्। तर उनीहरूका उत्पादन बजारसम्म पुग्ने संरचना कमजोर छ। व्यवस्थित व्यापारिक स्थल बनेमा उनीहरूले आफ्ना उत्पादन नियमित रूपमा बिक्री गर्न सक्ने वातावरण बन्न सक्छ।

व्यापारसँगै सामाजिक र सांस्कृतिक महत्व

ग्रामीण हाटबजार केवल आर्थिक गतिविधिको केन्द्र मात्र होइन, सामाजिक र सांस्कृतिक जीवनको पनि हिस्सा हो। पहिलेका ग्रामीण हाटहरूमा मानिसहरू किनमेलका लागि मात्रै पुग्दैनथे। त्यहाँ सामाजिक भेटघाट हुन्थ्यो, स्थानीय सूचना आदानप्रदान हुन्थ्यो, सम्बन्धहरू बलियो बन्थे।

हेकुली हाटबजारलाई दंगिशरणको स्थानीय संस्कृति, लोकपरिकार, हस्तकला तथा कृषि पहिचानसँग जोड्न सकिने सम्भावना पनि देखिन्छ। स्थानीय कृषि मेला, सांस्कृतिक कार्यक्रम तथा घरेलु उत्पादन प्रदर्शनी सञ्चालन गर्न सकियो भने यसले दंगिशरणलाई ग्रामीण पर्यटनसँग समेत जोड्न सक्छ।

यसले गाउँपालिकाको मौलिक पहिचान बाहिरी क्षेत्रसम्म पुर्‍याउन मद्दत गर्न सक्छ।

दीर्घकालीन सोच र पूर्वाधारको आवश्यकता

स्थानीय तहहरूले पछिल्ला वर्षहरूमा विभिन्न विकास योजना अघि सारेका छन्। तर दीर्घकालीन योजना, व्यवस्थापन र पूर्वाधार अभावमा कतिपय संरचनाहरू प्रभावकारी बन्न सकेका छैनन्।

हेकुली हाटबजारलाई पनि सामान्य बजारको रूपमा मात्र होइन, दंगिशरणको दीर्घकालीन आर्थिक पूर्वाधारका रूपमा हेर्नुपर्ने आवश्यकता देखिन्छ। यदि योजनाबद्ध रूपमा कृषि संकलन केन्द्र, चिस्यान केन्द्र, पशु हाट, व्यवस्थित पार्किङ, महिला उद्यमी स्टल, स्थानीय उत्पादन बिक्री केन्द्र तथा खाद्य प्रशोधन संरचना निर्माण गर्न सकियो भने यसको प्रभाव अझ व्यापक बन्न सक्छ।

स्थानीय सरकार, किसान, व्यापारी, सहकारी संस्था, युवा तथा नागरिक समाजबीच समन्वय हुन सके यो योजना व्यवहारमा उतार्न सकिने स्थानीयको विश्वास छ।

सम्भावना छ, पहलको प्रतीक्षा

हेकुलीमा अहिले व्यवस्थित हाटबजार छैन। तर सम्भावना भने स्पष्ट देखिन्छ। स्थानीय उत्पादन बढिरहेको छ। कृषि व्यवसाय विस्तार भइरहेको छ। गाउँमै उद्यम गर्ने चाहना बोकेका युवा र महिला समूहहरू सक्रिय भइरहेका छन्।

तर यी सबै सम्भावनालाई जोड्ने साझा आर्थिक संरचना अझै निर्माण हुन सकेको छैन। यदि स्थानीय उत्पादन, श्रम, उद्यम र बजारलाई एउटै प्रणालीभित्र जोड्न सकियो भने हेकुली हाटबजार दंगिशरणको आर्थिक रूपान्तरणको आधार बन्न सक्छ।

सायद भविष्यमा दंगिशरणलाई केवल उत्पादन गर्ने गाउँपालिकाका रूपमा मात्र होइन, आत्मनिर्भर स्थानीय अर्थतन्त्र निर्माणतर्फ अघि बढेको ग्रामीण मोडेलका रूपमा चिनाउने आधार यही हाटबजार बन्न सक्छ।

प्रतिक्रिया दिनुहोस