नेपालगञ्ज । नेपालगञ्जको धम्बोझी चोकमा सार्वजनिक पैदल मार्गमै खसी काट्ने तथा मासु तयारी गर्ने कार्य भइरहेको भन्दै सर्वसाधारणले सास्ती भोग्नुपरेको गुनासो गरेका छन्। विशेषगरी बिहानको समयमा हिँड्ने बाटोमै यस्तो गतिविधि हुँदा आवतजावतमा कठिनाइ भएको स्थानीयले बताएका छन्।
स्थानीयका अनुसार, पैदल यात्रुका लागि छुट्याइएको स्थानमै रगत बग्ने, फोहोर थुप्रिने जस्ता गतिविधिले वातावरण अस्वच्छ बनेको छ। यसले मात्र नभई स्वास्थ्यमा समेत जोखिम बढाएको उनीहरूको भनाइ छ। “हिँड्ने बाटोमै खसी काटिँदा हिँड्न समेत गाह्रो हुन्छ, दुर्गन्ध र फोहोरले झन् समस्या बनाएको छ,” एक स्थानीयले गुनासो गरे।
उक्त स्थान नजिकै रहेको बागेश्वरी मन्दिर जाने मुख्य प्रवेशद्वार आसपासमै यस्तो गतिविधि हुँदा धार्मिक दृष्टिले समेत असहजता उत्पन्न भएको स्थानीयको भनाइ छ।
सार्वजनिक स्थानमा यसरी पशु वध गर्नु कानुनी तथा स्वास्थ्य मापदण्डविपरीत भएको सरोकारवालाहरूले बताएका छन्। साथै, पैदल मार्ग अवरुद्ध हुँदा दुर्घटनाको जोखिम समेत बढेको छ।
स्थानीयले सम्बन्धित निकायसँग तत्काल अनुगमन गरी यस्ता गतिविधि रोक्न माग गरेका छन्। “व्यवसाय गर्न पाउनु पर्छ, तर नियमभित्र रहेर मात्रै हुनुपर्छ,” उनीहरूले जोड दिएका छन्।