दाङ । घोराही उपमहानगरपालिका–६ चैनपुरमा पिउने पानीको चरम अभाव देखिएको छ। निर्माणाधीन खानेपानी आयोजना लामो समयदेखि अलपत्र पर्दा करिब ६ सय घरपरिवार दैनिक पानीको समस्याबाट प्रभावित भएका छन्।
समस्या समाधानका लागि ‘घोराही बनाऔँ अभियान’ सक्रिय रूपमा मैदानमा उत्रिएको छ। अभियानको टोलीले सौडियार २, ३, ४ स्किम नम्बर ४ अन्तर्गत चैनपुर खानेपानी आयोजनाको स्थलगत अनुगमन गर्दै तत्काल निर्माण कार्य सम्पन्न गर्न दबाब दिएको हो।
अवलोकनका क्रममा ओभरहेड ट्याङ्की निर्माण भएको तीन वर्ष बितिसक्दा पनि पाइपलाइन विस्तार लगायतका काम अगाडि नबढेको पाइएको छ। जसका कारण स्थानीय बासिन्दा अझै पनि पिउने पानीबाट वञ्चित छन्।
अभियानका संयोजक सविन प्रियासन र चैनपुर खानेपानी समितिका अध्यक्ष हेमराज ओलीसहितको टोलीले खानेपानी तथा सरसफाइ कार्यालय, दाङमा ज्ञापनपत्र बुझाउँदै तत्काल आयोजनालाई पूर्णता दिन माग गरेका छन्।
ज्ञापनपत्र बुझ्दै कार्यालयका प्रतिनिधि गजेन्द्र बहकरीले यस विषयमा संघीय सरकारसँग थप बजेट माग गर्दै चाँडै प्रक्रिया अगाडि बढाइने बताएका छन्। उनका अनुसार बजेट अभावकै कारण जिल्लाका केही आयोजना अझै अधुरो अवस्थामा रहेका छन्।
चैनपुर क्षेत्रका स्थानीयवासीले भने अब ढिलाइ सहन नसक्ने बताएका छन्। उनीहरूले तत्काल पाइपलाइन विस्तार गरी पानी आपूर्ति सुचारु गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।