घोराही बनाऔँ अभियान १९ वटै वडामा पुग्दै

घोराही । घोराही उपमहानगरपालिकाका १९ वटै वडाको समस्या, सम्भावना, आवश्यकता र विशेषता पहिचान गर्दै विकासको स्पष्ट खाका निर्माण गर्ने उद्देश्यले ‘घोराही बनाऔँ अभियान’ ले वडा अभियान सञ्चालन गर्ने भएको छ।

अभियानको औपचारिक सुरुवात असोज १८ गते आइतबार वडा नम्बर १ को सिमलताराबाट गरिने भएको छ। सिमलतारास्थित खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको भवनमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म कार्यक्रम सञ्चालन हुनेछ। त्यसपछि क्रमशः घोराहीका १९ वटै वडामा पुगेर स्थानीय नागरिक, सरोकारवाला तथा विभिन्न क्षेत्रका प्रतिनिधिसँग प्रत्यक्ष छलफल गरिनेछ।

अभियानको पहिलो कार्यक्रमलाई विशेष बनाउन विकाससम्बन्धी छलफलसँगै विशेषज्ञ चिकित्सकसहितको बृहत् स्वास्थ्य परीक्षण समेत सञ्चालन गरिने भएको छ। स्वास्थ्य परीक्षणका लागि सञ्जीवनी टिचिङ हस्पिटलका विशेषज्ञ चिकित्सकसहितको टोली सहभागी हुनेछ।

स्वास्थ्य परीक्षणमा सामान्य चिकित्सा, स्त्री तथा प्रसूति रोग र बालरोगसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराइनेछ। स्थानीय नागरिकलाई आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी लिन सहज होस् भन्ने उद्देश्यले स्वास्थ्य परीक्षणलाई वडा अभियानसँग जोडिएको अभियानले जनाएको छ।

यसका लागि ‘घोराही बनाऔँ अभियान’ र सञ्जीवनी टिचिङ हस्पिटलबीच सहकार्य गर्ने सहमति भएको छ। अभियानका संयोजक सबिन प्रियासन चौधरी र अस्पतालका सीइओ दीपक रोकाबीच स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्ने विषयमा सहमति भएको हो।

अस्पतालका सीइओ रोकाले अभियानसँगको सहकार्यमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली परिचालन गरिने बताउनुभयो।

“स्वास्थ्य परीक्षण कार्यक्रमका लागि अस्पतालको तर्फबाट विशेषज्ञ चिकित्सकसहितको टिम परिचालन हुनेछ। सामान्य चिकित्सा, स्त्री तथा प्रसूति रोग र बालरोगसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराउने तयारी गरेका छौँ,” रोकाले भन्नुभयो।

समस्या पहिचानदेखि समाधानको योजनासम्म

‘घोराही बनाऔँ अभियान’ले वडा तहमा पुगेर समस्या सुन्ने मात्र नभई सम्भावित समाधान र दीर्घकालीन योजनाका विषयमा समेत छलफल गर्ने जनाएको छ।

अभियानका क्रममा शिक्षा, स्वास्थ्य, रोजगार, उद्यमशीलता, कृषि, खानेपानी, सिँचाइ, वन, वातावरण, पर्यटन, खेलकुद, कला, साहित्य तथा संस्कृतिलगायतका विषयलाई प्राथमिकताका साथ उठाइनेछ।

अभियानका संयोजक प्रियासनले घोराहीलाई समग्र रूपमा बुझेर विकासको स्पष्ट खाका निर्माण गर्न वडा–वडामा पुग्ने अभियान सुरु गर्न लागिएको बताउनुभयो।

“घोराही एउटा सहर मात्र होइन, सम्भावनाले भरिएको ठूलो भूगोल हो। हरेक वडाको आफ्नै समस्या, सम्भावना र विशेषता छन्। ती सबैलाई पहिचान गरेर योजनाबद्ध रूपमा अगाडि बढाउनुपर्छ,” उहाँले भन्नुभयो, “हाम्रो उद्देश्य समस्या गन्ने मात्र होइन, समस्या पहिचान गरेर समाधानको बाटो खोज्ने हो।”

‘हरेक घर धारो, हरेक गाउँ सिँचाइ’

अभियानले खानेपानी र सिँचाइको समस्या समाधानलाई महत्वपूर्ण विषयका रूपमा अघि सारेको छ। ‘हरेक घर धारो, हरेक गाउँ सिँचाइ’ को अवधारणाअन्तर्गत खानेपानीको पहुँच विस्तार, कृषि उत्पादन वृद्धि, सिँचाइ सुविधा विस्तार तथा किसानलाई उत्पादनसँगै बजारसँग जोड्ने विषयमा छलफल गरिनेछ।

त्यस्तै, घोराहीका विभिन्न क्षेत्रमा रहेका खेतीयोग्य जमिनलाई उत्पादनसँग जोड्ने, स्थानीय स्रोतसाधनको अधिकतम उपयोग गर्ने तथा कृषि क्षेत्रमा युवाको सहभागिता बढाउने विषयमा पनि अभियानले ध्यान दिने जनाएको छ।

‘एक वडा, एक उद्यम’

रोजगार तथा उद्यमशीलतालाई अभियानले अर्को महत्वपूर्ण क्षेत्रका रूपमा अघि सारेको छ। ‘एक वडा, एक उद्यम’ तथा ‘टोलटोलमा उद्यमशील कार्यक्रम’ मार्फत प्रत्येक वडाको सम्भावनाअनुसार स्थानीय उद्यम स्थापना र रोजगारी सिर्जना गर्ने विषयमा छलफल गरिनेछ।

स्थानीय उत्पादनलाई बजारसँग जोड्ने, युवालाई सीपसँग जोड्ने तथा वैदेशिक रोजगारीबाट फर्किएका युवाको सीप र पूँजीलाई स्थानीय उद्यममा प्रयोग गर्ने सम्भावनाका विषयमा समेत छलफल गरिने अभियानले जनाएको छ।

शिक्षा, स्वास्थ्यदेखि पर्यटनसम्म

शिक्षातर्फ सामुदायिक विद्यालयको गुणस्तर सुधार, प्राविधिक तथा व्यावसायिक शिक्षा विस्तार र खेलकुदलाई शिक्षासँग जोड्ने विषयलाई प्राथमिकतामा राखिनेछ।

स्वास्थ्यतर्फ सहज र गुणस्तरीय स्वास्थ्य सेवा, स्वास्थ्य संस्थाको प्रभावकारिता, औषधिको नियमित उपलब्धता तथा रोकथाममुखी स्वास्थ्य कार्यक्रमका विषयमा वडा तहमा छलफल गरिनेछ।

त्यसैगरी वन तथा वातावरण संरक्षण, नदी–खोला संरक्षण, हरियाली प्रवर्द्धन, विपद् जोखिम न्यूनीकरण, स्थानीय पर्यटन, कला, साहित्य, भाषा तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनका विषयलाई पनि अभियानमा समेटिनेछ।

१९ वडा, एउटै विकासको सोच

अभियानले १९ वटै वडालाई अलग–अलग इकाइका रूपमा मात्र नभई एउटै समग्र विकास प्रणालीका रूपमा जोडेर हेर्नुपर्नेमा जोड दिएको छ।

“वडा नम्बर १ देखि १९ सम्मको विकासलाई एउटै सोच र योजनामा जोड्न सके मात्र समग्र घोराहीको सन्तुलित विकास सम्भव हुन्छ,” प्रियासनले भन्नुभयो, “कुनै एउटा वडाको राम्रो अभ्यास अर्को वडामा विस्तार गर्न सकिन्छ। त्यसैले यो अभियान सबै वडाको साझा अभियान हो।”

उहाँका अनुसार प्रत्येक वडाको आवश्यकता र सम्भावना फरक हुने भएकाले स्थानीय विशेषताअनुसार योजना निर्माण गर्न आवश्यक छ।

अभियानले वडा तथा टोल तहबाट प्राप्त समस्या, सुझाव र सम्भावनालाई संकलन गरी प्राथमिकताका आधारमा वर्गीकरण गर्ने तथा त्यसलाई दीर्घकालीन विकास योजनासँग जोड्ने तयारी गरेको छ।

“घोराहीले मलाई के दियो भन्ने प्रश्नसँगै मैले घोराहीलाई के दिएँ भन्ने सोच पनि विकास गर्नुपर्छ,” प्रियासनले भन्नुभयो, “गुनासोमा होइन, समाधानमुखी बनौँ भन्ने भावनाका साथ वडा–वडाबाट घोराही निर्माणको अभियान अघि बढाउनेछौँ।”

‘समृद्धि, विकास, सुशासन’लाई मूल आधार बनाउँदै ‘घोराही हाम्रो हो, घोराहीको विकास हाम्रो जिम्मेवारी हो’ भन्ने सन्देशसहित सञ्चालन हुने अभियान असोज १८ गते वडा नम्बर १ को सिमलताराबाट सुरु भएर क्रमशः घोराहीका १९ वटै वडामा पुग्नेछ।

प्रतिक्रिया दिनुहोस