बाँके । नेपालगन्ज–८ को एउटा अस्थायी टहराभित्र बिहानैदेखि माटो चलिरहेको छ। कतै बाँसको संरचना बनाइँदैछ, कतै परालले आकृति दिइँदैछ। अर्को कुनामा माटोको लेप लगाएर देवीको अनुहारलाई आकार दिइँदैछ। केही मूर्तिमा रङ भरिँदैछ भने केहीमा मुकुट, गहना र अन्य सजावटका सामग्री जोडिँदैछन्।
दशैं नजिकिँदै गर्दा नेपालगन्जका मूर्तिकारलाई अहिले यस्तै कामको चटारो छ। सडक किनारका अस्थायी टहरादेखि घरका आँगनसम्म दुर्गा भवानीसहित देवीदेवताका मूर्ति बनाउन मूर्तिकार दिनरात व्यस्त छन्।
तराई क्षेत्रमा घटस्थापनादेखि टोलटोलमा नवदुर्गा भवानीका मूर्ति स्थापना गरी पूजाअर्चना गर्ने परम्परा भएकाले दशैंअघि नै सबै अर्डर पूरा गर्नुपर्ने दबाब मूर्तिकारमाथि छ। त्यसैले अहिले उनीहरूका लागि आरामभन्दा काम महत्वपूर्ण बनेको छ।

पराल, बाँस, माटो, भुस र दाउराको प्रयोगबाट तयार पारिएका मूर्तिमा अहिले अन्तिम चरणको काम भइरहेको छ। कतै माटोको लेप सुकाउने काम भइरहेको छ भने कतै रङरोगन र साजसज्जा। मूर्तिको अनुहारमा भाव भर्नेदेखि मुकुट र गहना मिलाउनेसम्मका कामले मूर्तिकारको दिनचर्या व्यस्त बनेको छ।
नेपालगन्ज–८ का अकिंत मिश्रले भने करिब एक महिनाअघिदेखि नै दुर्गा भवानीका मूर्ति बनाउन सुरु गरेका छन्। उनका अनुसार दुर्गा, लक्ष्मी, गणेश र कार्तिकेयसँगै बाघ, मुसा, राँगा र सर्पका आकृतिसमेत तयार भइसकेका छन्।
“ग्राहकले एक महिनाअघिदेखि नै अर्डर गर्न थाल्छन्। समयमै मूर्ति तयार पारेर दिनुपर्ने भएकाले दशैं आउन थालेपछि कामको चटारो झनै बढ्छ,” मिश्रले भने।
मूर्ति निर्माणका लागि आवश्यक सजावटका सामग्री तथा विभिन्न औजार सीमावर्ती भारतीय बजार रुपैडिहाबाट ल्याउने गरिएको उनले बताए। मूर्तिको आकार, डिजाइन र सजावटअनुसार लागत पनि फरक पर्ने गर्छ।
नेपालगन्ज–६ का सन्दीपकुमार वंसकार पनि अहिले आफ्नै पुर्ख्यौली सीपलाई निरन्तरता दिँदै मूर्ति निर्माणमा व्यस्त छन्। सडक किनारमा बनाइएको अस्थायी टहरामा उनी र उनका कामदार सयौँ मूर्तिलाई अन्तिम रूप दिन लागिरहेका छन्।
वंसकारका अनुसार एउटा मूर्ति सामान्यतया २० हजारदेखि २५ हजार रुपैयाँसम्ममा बिक्री हुने गर्छ। त्यसबाट प्रतिमूर्ति करिब ४ देखि ५ हजार रुपैयाँसम्म नाफा हुने गरेको उनको भनाइ छ।
मूर्ति निर्माणले वंसकारको परिवारको आम्दानी मात्रै धानेको छैन, अरूका लागि पनि रोजगारीको अवसर सिर्जना गरेको छ। उनले आफू बाहेक थप छ जनालाई काम दिएका छन्। कामको प्रकृति र जिम्मेवारीअनुसार कामदारलाई १० हजारदेखि २० हजार रुपैयाँसम्म पारिश्रमिक दिने गरिएको उनले बताए।
तर मूर्ति बनाउने सीप र बजार भए पनि यो व्यवसाय सहज भने छैन। मूर्तिकारहरूका अनुसार उनीहरूको संगठित संस्था नहुँदा र निश्चित दररेट कायम नहुँदा मूल्य निर्धारणमा समस्या हुने गरेको छ।
मूर्तिको आकार, सजावट र ग्राहकअनुसार एउटै प्रकृतिका मूर्तिको मूल्यसमेत फरक हुने गरेको वंसकार बताउँछन्। नियमित ग्राहकलाई छुट दिनुपर्ने बाध्यता हुँदा कतिपय अवस्थामा लागतअनुसारको मूल्यसमेत नपाउने अवस्था आउने गरेको उनको भनाइ छ।
“मेहनत धेरै हुन्छ। तर सबै ग्राहकले मूर्तिको लागत र त्यसमा लागेको श्रम बुझ्दैनन्। कहिलेकाहीँ मूल्यमा कुरा मिलाउनै गाह्रो हुन्छ,” उनी भन्छन्।
मूर्तिसँगै जोडिएको रोजगारी
नेपालगन्जमा दशैंका लागि मूर्ति निर्माण केवल धार्मिक आस्थासँग जोडिएको काम मात्र होइन, यसले स्थानीय स्तरमा रोजगारी र आम्दानीको अवसरसमेत सिर्जना गरेको छ। मूर्ति बनाउनेदेखि रङरोगन, सजावट, ढुवानी र स्थापना गर्नेसम्म विभिन्न चरणमा धेरै मानिस जोडिन्छन्।
एक महिनादेखि सुरु हुने यो मौसमी व्यवसाय दशैंसँगै विस्तारै सकिन्छ। तर केही साताको यही व्यस्तताले मूर्तिकार परिवारका लागि वर्षको महत्वपूर्ण आम्दानी जुटाउने गरेको छ।
माटो, बाँस र परालजस्ता स्थानीय सामग्रीलाई सीपले देवीदेवताका आकृतिमा रूपान्तरण गर्ने मूर्तिकारका लागि यो परम्परा पुस्तौँदेखि चलिआएको पेशा पनि हो। आधुनिक बजार, बदलिँदो डिजाइन र ग्राहकको रुचिअनुसार मूर्तिको स्वरूपमा परिवर्तन आए पनि हातको सीप र परम्परागत प्रविधिको महत्व अझै कायमै छ।
मूर्तिसँगै सुरु हुन्छ रामलीलाको रौनक
बाँकेको नेपालगन्ज, कोहलपुर, जानकी, खजुरा, डुडुवा र नरैनापुर क्षेत्रमा दशैंको धार्मिक तथा सांस्कृतिक गतिविधिमा नवदुर्गाका मूर्तिको विशेष महत्व छ।
विभिन्न टोलमा समुदाय मिलेर रकम सङ्कलन गरी वा व्यक्तिगत खर्चमा नवदुर्गा भवानीका मूर्ति स्थापना गर्ने गरिन्छ। घटस्थापनादेखि नवरात्रभर मूर्ति स्थापना गरेर पूजाअर्चना गर्ने परम्परा छ।
स्थानीय अगुवा सन्तोषकुमार कनोडियाका अनुसार मूर्ति स्थापना भएसँगै टोलका बगियामा रामलीला सुरु हुने र दशैंको रौनक थपिने गरेको छ।
उनका अनुसार मूर्ति स्थापना र रामलीला नेपालगन्ज तथा आसपासको दशैंसँग जोडिएको पुरानो सांस्कृतिक परम्परा हो। यसले धार्मिक आस्थासँगै समुदायलाई एक ठाउँमा जोड्ने कामसमेत गर्दै आएको छ।
नवरात्रभर पूजाअर्चना गरिएका मूर्ति दशैंको भोलिपल्ट बाजागाजासहित राप्ती नदीमा लगेर विसर्जन गर्ने गरिन्छ। मूर्ति निर्माणबाट सुरु भएको दशैंको यो सांस्कृतिक यात्रा विसर्जनसँगै अर्को वर्षको प्रतीक्षामा पुग्छ।
एकातिर मूर्तिकारका हातमा माटोले देवीको स्वरूप पाउँदैछ, अर्कोतिर टोल–टोलमा दशैंको तयारी तीव्र हुँदैछ। नेपालगन्जका सडक किनारमा देखिने यी माटाका आकृतिहरू केवल सजावटका वस्तु होइनन्—यी यहाँको आस्था, सीप, रोजगारी र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक परम्पराका प्रतिरूप हुन्।
दशैं नजिकिँदै जाँदा मूर्तिकारका हातमा माटो अझै चलिरहेको छ। उनीहरूका लागि देवीको आकृति बनाउनु केवल एउटा अर्डर पूरा गर्नु होइन, आफ्नै पुर्खाले छाडेको सीपलाई अर्को पुस्तासम्म पुर्याउनु पनि हो।