दाङ । घोराही बनाउँ अभियान र ग्रेट बुद्ध एकेडेमीबीच भएको मैत्रीपूर्ण फुट्सल प्रतियोगितामा घोराही बनाउँ अभियान १२–६ गोल अन्तरले विजयी भएको छ।
घोराहीस्थित उमाओ फुट्सलमा भएको मैत्रीपूर्ण खेलमा घोराही बनाउँ अभियानले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गर्दै गोलको अग्रता बनाएको थियो।
खेलमा अभियानको टोलीले उत्कृष्ट समन्वय, पासिङ र आक्रमणलाई निरन्तरता दिँदै १२ गोल गर्न सफल भयो। ग्रेट बुद्ध एकेडेमीले पनि प्रतिस्पर्धात्मक खेल प्रदर्शन गर्दै ६ गोल फर्काए पनि जितका लागि पर्याप्त हुन सकेन।
घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनको नेतृत्वमा मैदानमा उत्रिएको टोलीले ग्रेट बुद्ध एकेडेमीका क्याप्टेन किरण रोकाको टोलीलाई पराजित गरेको हो। खेलका क्रममा दुवै टोलीका खेलाडीले उत्साहजनक प्रदर्शन गरेका थिए।
मैत्रीपूर्ण फुट्सल खेलमार्फत युवालाई खेलकुदमा जोड्ने, स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने तथा सामाजिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्य रहेको आयोजकले जनाएको छ। घोराहीमा खेलकुदको विकाससँगै युवाको प्रतिभा पहिचान र प्रोत्साहन आवश्यक रहेको अभियानका संयोजक प्रियासनले बताउनुभयो।
उहाँले खेलकुदलाई मनोरञ्जनका रूपमा मात्र नभई अनुशासन, स्वास्थ्य, नेतृत्व विकास र सामाजिक एकतासँग जोडेर अघि बढाउनुपर्ने धारणा राख्नुभयो। घोराहीमा फुट्सललगायत विभिन्न खेलप्रति युवाको आकर्षण बढ्दै गएकाले खेलमैत्री वातावरण निर्माण गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो।
मैत्रीपूर्ण खेलले दुवै टोलीका खेलाडी तथा समर्थकबीच आपसी सद्भाव र सहकार्यको भावना समेत बढाएको छ। आगामी दिनमा पनि यस्ता खेलकुद गतिविधिलाई निरन्तरता दिने अपेक्षा गरिएको छ।