शिक्षा सुधारको मागले दिल्ली उथलपुथल, हजारौं युवा सडकमा

एजेन्सी। भारतको राजधानी नयाँ दिल्लीमा शिक्षा सुधार, रोजगारी र महँगीलगायतका मुद्दालाई लिएर सुरु भएको युवाहरूको आन्दोलनले सोमबार उग्र रूप लिएको छ। हजारौं विद्यार्थी तथा युवाहरू सडकमा उत्रिएपछि राजधानी दिनभर तनावग्रस्त बनेको छ भने प्रदर्शन मंगलबार पनि जारी रहेको छ।

कनट प्लेस (सीपी), जनपथदेखि जन्तर–मन्तरसम्म प्रदर्शनकारीहरूको बाक्लो उपस्थिति देखिएको छ। सुरक्षा चुनौती बढेपछि प्रशासनले केही मेट्रो स्टेशन बन्द गरेको, सडक आवागमनमा अवरोध गरेको तथा ठूलो संख्यामा प्रहरी परिचालन गरेको थियो। त्यसका बाबजुद प्रदर्शनकारीहरू बिहानैदेखि जन्तर–मन्तरतर्फ अघि बढेका थिए।

प्रहरीले भीड नियन्त्रणका लागि लाठीचार्ज र अश्रुग्यास प्रयोग गरे पनि प्रदर्शनकारीहरू सोमबार साँझसम्म आन्दोलनस्थलमा डटेर बसेका थिए।

करिब एक महिनादेखि ककरोच जनता पार्टी (सीजेपी) को नेतृत्वमा शिक्षा प्रणालीमा सुधार र केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै आन्दोलन भइरहेको छ। सोमबारको प्रदर्शनमा विद्यालय तथा कलेजका विद्यार्थी, प्रतियोगी परीक्षाको तयारी गरिरहेका युवाहरू र विभिन्न क्षेत्रका नागरिकको उल्लेखनीय सहभागिता देखिएको छ।

प्रदर्शनकारीहरूले शिक्षा प्रणाली सुधारसँगै बढ्दो महँगी, बेरोजगारी तथा युवाको भविष्यप्रति सरकार गम्भीर नभएको आरोप लगाएका छन्। उनीहरूले आफ्ना मागलाई अब बेवास्ता गर्न नसकिने स्पष्ट सन्देश सरकारलाई दिएका छन्।

स्वतन्त्र पत्रकार स्मिता शर्माका अनुसार आन्दोलनको दायरा शिक्षा सुधारमा मात्र सीमित नरही महँगी, बेरोजगारी र सरकारप्रतिको बढ्दो असन्तुष्टिसम्म विस्तार भएको छ। कक्षा १२ का विद्यार्थीदेखि विश्वविद्यालय तहका युवासम्म आन्दोलनमा सक्रिय देखिएका छन्।

सीजेपीले सोमबार संसद् मार्चको आह्वान गरेपछि ठूलो संख्यामा प्रदर्शनकारी दिल्लीका सडकमा उत्रिएका थिए।

यसबीच आन्दोलनकारी र सरकारबीच वार्ता पनि भएको छ। केन्द्रीय स्वास्थ्य मन्त्री जेपी नड्डाले आन्दोलनकारी प्रतिनिधिसँग सौहार्दपूर्ण वातावरणमा छलफल भएको जानकारी दिएका छन्। उनका अनुसार आन्दोलनकारीहरूले आफ्ना मागसहित लिखित ज्ञापनपत्र बुझाएका छन्। यद्यपि शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा सम्बन्धी मुख्य मागमा भने सरकार लचक देखिएको छैन।

विश्लेषकहरूका अनुसार आन्दोलनको सबैभन्दा उल्लेखनीय पक्ष यसको स्वतःस्फूर्त सहभागिता हो। इन्टरनेट सेवा प्रभावित, मेट्रो स्टेशन बन्द र कडा सुरक्षा व्यवस्थाका बाबजुद हजारौं युवाहरू आफैं आन्दोलनमा सहभागी हुनु सरकारका लागि गम्भीर सन्देश भएको उनीहरूको भनाइ छ।

सामाजिक अभियन्ता योगेन्द्र यादवले आन्दोलनलाई नयाँ पुस्ताको चेतनाको प्रतीक भएको टिप्पणी गर्दै युवाहरू न्यायपूर्ण शिक्षा प्रणाली, रोजगारीमुखी अर्थतन्त्र र उत्तरदायी शासन व्यवस्थाको पक्षमा उभिएको बताएका छन्।

वरिष्ठ पत्रकार हेमन्त अत्रीले पनि सोमबारको प्रदर्शनलाई मोदी सरकारका लागि स्पष्ट चेतावनीको रूपमा व्याख्या गरेका छन्। उनका अनुसार सरकारले अब शिक्षा, रोजगारी, महँगी र सुशासनजस्ता जनजीविकासँग जोडिएका मुद्दालाई बेवास्ता गर्न नसक्ने अवस्था सिर्जना भएको छ।

उनले युवाहरूको सक्रिय सहभागिताले भारतीय राजनीतिमा दीर्घकालीन प्रभाव पार्न सक्ने उल्लेख गर्दै लोकतन्त्रमा जनताको आवाजलाई बेवास्ता गर्न नसकिने बताएका छन्।

प्रतिक्रिया दिनुहोस