बाँके । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले सञ्चारमाध्यम कमजोर हुँदा लोकतन्त्र पनि कमजोर हुने बताउनुभएको छ।
नेपाल पत्रकार महासंघ अर्घाखाँचीको १७औँ साधारण सभाको शनिबार सन्धिखर्कमा उद्घाटन गर्दै उहाँले सत्य, निष्पक्ष र जिम्मेवार पत्रकारिता समाज रूपान्तरणको महत्वपूर्ण आधार भएको उल्लेख गर्नुभयो । लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि स्वतन्त्र र सबल सञ्चारमाध्यम अपरिहार्य रहेको उहाँको भनाइ थियो ।
उहाँले सञ्चारमाध्यम कमजोर भए नागरिकका अधिकार र स्वतन्त्रतासमेत प्रभावित हुने धारणा राख्दै वर्तमान अवस्थामा सञ्चारमाध्यम र सञ्चारकर्मीलाई विस्थापित गर्ने उद्देश्यले सञ्चार संस्थामाथि विभिन्न किसिमका अंकुश लगाउने प्रयास भइरहेको आरोप लगाउनुभयो । यस्ता गतिविधिले प्रेस स्वतन्त्रता तथा लोकतान्त्रिक मूल्य–मान्यतामाथि चुनौती सिर्जना गर्ने उहाँले बताउनुभयो ।
केन्द्रीय सचिव प्रियासनले पत्रकारिताको नाममा अराजकता फैलाउने तथा पेशागत मर्यादा विपरीत कार्य गर्ने व्यक्तिलाई कारबाही गर्न नेपाल पत्रकार महासंघ तयार रहेको स्पष्ट पार्नुभयो । पत्रकारितालाई जिम्मेवार, विश्वसनीय र मर्यादित बनाउन महासंघ प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।
मोबाइल प्रविधिको सहज पहुँचसँगै सामाजिक सञ्जाल तथा डिजिटल माध्यममार्फत आफूलाई पत्रकार दाबी गर्ने प्रवृत्ति बढिरहेको उल्लेख गर्दै उहाँले यस्ता गतिविधिबाट समाजमा भ्रम, अराजकता र गलत सूचना फैलिन सक्ने भएकाले सबै सचेत हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
उहाँले समृद्ध नेपाल निर्माणका लागि पत्रकार महासंघ सरकार, निजी क्षेत्र तथा नागरिक समाजसँग सहकार्य गर्न तयार रहेको बताउँदै उत्पादन वृद्धि, आर्थिक विकास तथा स्वरोजगार प्रवद्र्धनलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । साथै समाजमा रहेका विकृति, विसंगति, भ्रष्टाचार र अन्यायका विरुद्ध महासंघ सधैं अग्रपङ्क्तिमा रहने प्रतिबद्धता पनि जनाउनुभयो ।
प्रियासनले स्थानीय तह तथा सरकारी निकायबाट उपलब्ध हुने विज्ञापन जिल्लाभित्रकै सञ्चारमाध्यममा समानुपातिक र न्यायोचित ढंगले वितरण गरिनुपर्नेमा जोड दिनुभयो । यसले स्थानीय सञ्चारमाध्यमको दिगोपन र संस्थागत विकासमा महत्वपूर्ण योगदान पुग्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइराला, सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेल, प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश महासचिव पाण्डव शर्मा, नेकपा (एमाले) अर्घाखाँचीका सचिव तोजबहादुर रायमाझी, नेकपा लुम्बिनी प्रदेश सचिवालय सदस्य ठाकुर सौराग, राजमो जिल्ला सचिवालय सदस्य जीवनारायण खनाल तथा नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष विष्णु भुसाललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
वक्ताहरूले लोकतन्त्रको सुदृढीकरण, सुशासन प्रवद्र्धन तथा नागरिकलाई सही सूचना प्रवाह गर्न पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रेस स्वतन्त्रताको संरक्षण, पत्रकारहरूको पेशागत सुरक्षा तथा स्थानीय सञ्चारमाध्यमको संस्थागत विकासमा सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो ।
साधारण सभामा जिल्लाका पत्रकार, सञ्चारकर्मी, जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो । कार्यक्रम नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष गणेश खनालको अध्यक्षता, उपाध्यक्ष रुद्रमणि भुसालको स्वागत मन्तव्य तथा सहसचिव घनश्याम पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा अग्रज पत्रकार विष्णु भुसाल, निमबहादुर रिजाल, शोभाखर पन्थी, हिम जिसी लेकाली र अशोक खनाललाई सम्मान समेत गरिएको थियो ।