काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रमोद न्यौपानेले हिजो एउटा स्टाटस लेखे, जसलाई विभिन्न अर्थ लगाइयो ।
आफ्नो गम्भीर मुद्राको तस्बिर राख्दै उनले लेखेका थिए, ‘ढुक्क हुनुस्, यसरी चाहिँ बन्दै बन्दैन ।’
न्यौपाने रास्वपा सभापति रवि लामिछानेको कोर टिमका नेता र विश्वासपात्र हुन् । यद्यपि, उनी कुनै पनि पदमा छैनन् । पार्टीको समानुपातिक सूचीमा रहे पनि उनी सांसद बन्न पाएका थिएनन् । न्यौपानेको यो स्टाटसलाई सरकारको कार्यशैली वा पार्टी नेतृत्वप्रति नै कटाक्ष गरेको अर्थमा धेरैले बुझेका छन् ।
पत्रकार किशोर श्रेष्ठले त निष्कर्ष नै निकाले । उनले फेसबुकमा स्टाटस लेख्दै रास्वपाको घरभित्रै आगो सल्केको टिप्पणी गरे ।
श्रेष्ठले लेखेका छन्, ‘घरभित्रै, दलभित्रै आगो सल्किसक्यो, अब विरोधी र मिडियाको मुख थुन्ने खेती बन्द गरेर सत्ताभोगमा मात्रै केन्द्रित भए हुन्छ । पशुपतिनाथले पनि यो देशलाई अन्धभक्तहरूको भीडबाट बचाए पुग्छ !’
आफ्नो लाक्षणिक स्टाटसलाई विवादित बनाउन खोजिएपछि न्यौपानेले प्रष्टीकरण नै दिनुपर्यो । पछिल्लो स्टाटसमा उनले देश वा पार्टी यसरी बन्दैन भन्ने अर्थमा आफूले नलेखेको दाबी गरेका छन् । यद्यपि, लेख्न खोजेको के हो भन्ने चाहिँ प्रष्ट्याएका छैनन् ।
यसैबीच सरकारनिकट एक कलाकारले प्रमोद न्यौपानेलाई उनकै भाषामा जवाफ दिएका छन् । उनी हुन् आसिफ शाह, जो प्रधानमन्त्री बालेन्द्र साहसँग निकै नजिक छन् । बालेनका राजनीतिक सल्लाहकार असिम साहका उनी दाजु हुन् ।
आसिफले आफ्नो फोटो राख्दै फेसबुकमा लेखेका छन्, ‘ढुक्क हुनुस्, बन्ने यसरी नै हो ।’
उनले कसैलाई ईंगित नगरे पनि यो स्टाटस प्रमोदप्रति लक्षित रहेको स्पष्टै बुझिन्छ । त्यसो त ‘ढुक्क हुनुस्’ को सुरुवात चाहिँ बालेनले गरेका थिए । केही दिनअघि उनले फेसबुकमा ‘ढुक्क हुनुस्’ मात्रै लेखेर हिँडेपछि त्यसलाई विभिन्न ढंगले अर्थ्याउने प्रयास भएको थियो ।