सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आगामी जेठ २२ गतेदेखि पहिलोपटक राष्ट्रिय स्तरको महिला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता सन् २०२७ मा नेपाल र बंगलादेशले संयुक्त रूपमा आयोजना गर्ने आईसीसी यू–१९ महिला विश्वकपका लागि नेपाली टोली छनोट गर्ने उद्देश्यले सञ्चालन हुन लागेको हो।
कर्णाली प्रदेश क्रिकेट संघका सचिव श्रीधर केसीका अनुसार प्रतियोगिता जेठ २२ गतेदेखि असार १ गतेसम्म सञ्चालन हुनेछ। यस प्रतियोगितामा देशका सातै प्रदेशका यू–१९ महिला टोलीहरूको सहभागिता रहनेछ।
घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित कर्णाली प्रदेशको छनोट भइसकेको टोली हाल सुर्खेतमा बन्द प्रशिक्षणमा व्यस्त रहेको छ। खेलाडीहरूलाई प्राविधिक तथा शारीरिक रूपमा सशक्त बनाउन विशेष प्रशिक्षण भइरहेको संघले जनाएको छ।
कर्णाली प्रदेशका लागि यो प्रतियोगिता खेलकुद इतिहासमै महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। प्रदेशले यसअघि पहिलोपटक पुरुषतर्फको राष्ट्रिय क्रिकेट प्रतियोगिता सफलतापूर्वक आयोजना गरिसकेको थियो। तर महिला क्रिकेटतर्फ भने यो पहिलो राष्ट्रिय प्रतियोगिता हुनेछ।
संघका सचिव केसीका अनुसार, “कर्णालीको इतिहासमा यो दोस्रो राष्ट्रिय प्रतियोगिता हो, तर महिला क्रिकेटको इतिहासमा भने यो पहिलो राष्ट्रिय खेल हो।”
आगामी यू–१९ महिला विश्वकपका लागि नेपाली टोली निर्माण गर्ने उद्देश्यसहित आयोजना हुन लागेको यो प्रतियोगिताले राष्ट्रिय महिला क्रिकेट विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। आयोजकले प्रतियोगिताको सम्पूर्ण व्यवस्थापकीय तयारी तीव्र रूपमा अघि बढाइएको जनाएको छ।
यस प्रतियोगिताले कर्णाली प्रदेशमा महिला खेलकुदको विकास र प्रतिभा पहिचानमा नयाँ अध्याय सुरु गर्ने विश्वास गरिएको छ।