नेपालगन्ज, बाँके । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा रु १६ अर्ब ७३ करोड ९७ लाख ५९ हजार राजस्व संकलन गरेको छ। यो रकम वार्षिक लक्ष्यको ६८.२ प्रतिशत हो। कार्यालयले चालु आर्थिक वर्षका लागि रु २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार राजस्व संकलनको लक्ष्य प्राप्त गरेको भए पनि हालसम्म लक्ष्यअनुसार प्रगति हुन नसकेको जनाएको छ।
नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलका अनुसार अब बाँकी रहेका जेठ र असार महिनामा करिब ३२ प्रतिशत राजस्व संकलन गर्नुपर्ने चुनौती रहेको छ। चालु आर्थिक वर्षको सुरुदेखि नै लक्ष्यअनुसार राजस्व उठ्न नसके पनि पछिल्ला दुई महिना चैत र वैशाखमा संकलनमा उल्लेखनीय सुधार देखिएको उनले बताए।
भन्सार कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउन महिनामा लक्ष्यको ७४.१४ प्रतिशत मात्र राजस्व संकलन भएको थियो। भदौमा ६९.७७ प्रतिशत, असोजमा ८७.८३ प्रतिशत, कात्तिकमा ७२.३० प्रतिशत, मङ्सिरमा ८३.४५ प्रतिशत, पुसमा ८३.२८ प्रतिशत, माघमा ८८.२४ प्रतिशत र फागुनमा ८८.३२ प्रतिशत राजस्व संकलन भएको थियो। यस्तै चैत महिनामा लक्ष्यको ९८.३७ प्रतिशत राजस्व संकलन भएको थियो भने वैशाखमा ८५.३८ प्रतिशत राजस्व उठेको कार्यालयले जनाएको छ।
राजस्व संकलनमा पछिल्ला महिनाहरूमा सुधार देखिए पनि वार्षिक लक्ष्य भेट्न अझै कठिन देखिएको छ। भन्सार कार्यालयले आर्थिक गतिविधिमा आएको सुस्तता, आयातमा आएको कमी तथा बजारमा देखिएको माग घटेका कारण लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको जनाएको छ।
नेपाल–भारत सीमास्थित जमुनाहा नाकामा एकीकृत जाँच चौकी (आईसीपी) सञ्चालनमा आएपछि आयात–निर्यात कारोबार बढ्ने र त्यसको प्रत्यक्ष प्रभाव राजस्व संकलनमा पर्ने अपेक्षा गरिएको थियो। तर पछिल्ला केही वर्षदेखि अपेक्षाअनुसार व्यापारिक गतिविधि विस्तार हुन नसक्दा भन्सार राजस्व लक्ष्य प्रभावित हुँदै आएको छ।
कार्यालयका प्रमुख पौडेलले पछिल्लो समय राजस्व संकलन सुधारोन्मुख रहेको र आर्थिक वर्षको अन्तिम दुई महिनामा लक्ष्य नजिक पुग्ने गरी प्रयास भइरहेको बताए। उनका अनुसार राजस्व संकलन बढाउन भन्सार प्रशासनले निगरानी तथा सहजीकरणका कार्यक्रमलाई समेत तीव्रता दिएको छ।
नेपालगन्ज भन्सारको विगतका वर्षहरूको तथ्याङ्क हेर्दा पनि लक्ष्यअनुसार राजस्व संकलन हुन सकेको छैन। आर्थिक वर्ष २०८१/८२ मा कार्यालयले वार्षिक लक्ष्यको ७४.६४ प्रतिशत मात्र राजस्व संकलन गरेको थियो। त्यस्तै आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यको ६३.३५ प्रतिशत राजस्व संकलन भएको थियो।
नेपालगन्ज भन्सार कार्यालय पश्चिम नेपालको प्रमुख भन्सार नाका मानिन्छ। भारतसँगको व्यापारिक कारोबारको ठूलो हिस्सा यही नाकामार्फत हुने भएकाले यस क्षेत्रको राजस्व संकलनलाई राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण सूचकका रूपमा हेरिन्छ। आर्थिक वर्षको अन्त्य नजिकिँदै जाँदा लक्ष्य पूरा गर्न भन्सार कार्यालयमाथि थप दबाब बढेको छ भने आगामी दुई महिनाको प्रदर्शनले वार्षिक उपलब्धिको चित्र स्पष्ट पार्नेछ।