काठमाडौं । आत्मदाह गरेका मुगुका गणेश नेपालीको मोटरसाइकलमा ह्वील लक लगाउने काठमाडौं महानगरपालिकाकी नगर प्रहरीसहित सोधपुछका लागि बोलाइएका सबै नगर प्रहरीलाई प्रहरीले रिहा गरेको छ। उनीहरूमाथि हालसम्म कुनै मुद्दा दर्ता भएको छैन।
गत बिहीबार त्रिपुरेश्वरमा पार्किङका क्रममा गणेश नेपालीको मोटरसाइकलमा ह्वील लक लगाएपछि महानगर प्रहरीकी एक महिला प्रहरीसँग विवाद भएको थियो। त्यसलगत्तै नेपालीले आफ्नै मोटरसाइकलको ट्याङ्कीबाट पेट्रोल निकालेर शरीरमा खन्याउँदै आत्मदाह गरेका थिए। उपचारका क्रममा शुक्रबार उनको निधन भएको थियो।
घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौंले महानगर प्रहरीका पाँच जनालाई सोधपुछका लागि बोलाएको थियो। नेपालीको मृत्यु भएपछि तीमध्ये तीन जनालाई नियन्त्रणमा लिइएको जानकारी सार्वजनिक भएको थियो। तर हाल उनीहरू प्रहरी हिरासतमा नरहेको प्रहरीले जनाएको छ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार उनीहरूलाई घटनाको विवरण बुझ्नका लागि मात्रै बोलाइएको थियो। आवश्यक परेका बेला उपस्थित हुने सर्तमा उनीहरूलाई छाडिएको उनले बताए।
प्रहरीका अनुसार मृतकका परिवार वा सम्बन्धित पक्षबाट कसैविरुद्ध आत्महत्या दुरुत्साहन सम्बन्धी जाहेरी परे कानुनी प्रक्रियाअनुसार अनुसन्धान अघि बढाइनेछ। तर, आइतबारसम्म त्यस्तो कुनै जाहेरी वा निवेदन दर्ता नभएकाले कसैविरुद्ध मुद्दा चलाइएको छैन।