चोरीपैठारी, लागूऔषध, हुण्डी र अवैध ओसारपसार नियन्त्रणमा निगरानी कडा; चालु आर्थिक वर्षमा ११ करोड ७१ लाखभन्दा बढी राजस्व भन्सारमा दाखिला
नेपालगन्ज । नेपाल–भारत सीमाबाट हुने चोरीपैठारी, अवैध तस्करी तथा गैरकानुनी गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी बल नेपालले बाँकेको नेपालगन्ज नाकासहित सहायक नाकाहरूमा निगरानी र चेकजाँचलाई थप कडाइ गरेको छ।
पश्चिम नेपालको प्रमुख व्यापारिक नाकाका रूपमा रहेको नेपालगन्जमा सशस्त्र प्रहरीले सीमा सुरक्षा तथा अवैध गतिविधि नियन्त्रणलाई प्राथमिकतामा राख्दै नियमित गस्ती, चेकजाँच र निगरानी बढाएको जनाएको छ। लागूऔषध, हुण्डी, चोरीपैठारी तथा अवैध सामान ओसारपसार नियन्त्रणमा सशस्त्र प्रहरीले सक्रियता बढाएको हो।
सीमामा हुने अवैध गतिविधि नियन्त्रणका लागि सशस्त्र प्रहरीले तालिमप्राप्त कुकुरसमेत परिचालन गर्दै आएको छ। लागूऔषध, साना हातहतियार तथा शंकास्पद सामानको खोजी र जाँचमा ‘डग ह्यान्डलर’सहितको टोली परिचालन गरिएको एक सशस्त्र प्रहरी अधिकृतले बताए।
“अवैध गतिविधि नियन्त्रणका लागि नियमित गस्ती र चेकजाँचसँगै तालिमप्राप्त कुकुरको प्रयोगसमेत भइरहेको छ,” ती अधिकृतले भने।
सशस्त्र प्रहरीका अनुसार नेपालगन्ज नाकाबाट लागूऔषध ओसारपसारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिने क्रमसमेत बढेको छ। गणका अनुसार साउन ९ गते मात्रै दुई लाख ३० हजार रुपैयाँ मूल्य बराबरको लागूऔषध बरामद गरिएको थियो। उक्त घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद भएका अवैध सामान आवश्यक प्रक्रिया पूरा गरी नेपालगन्ज भन्सार कार्यालयमा पठाउने गरिएको छ। सीमा क्षेत्रमा हुने चोरीपैठारी तथा तस्करी नियन्त्रणसँगै राजस्व चुहावट रोक्न चेकजाँचलाई थप प्रभावकारी बनाइएको सशस्त्र प्रहरीको भनाइ छ।
सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण हेडक्वार्टर बागेश्वरीका गणपति एसपी भीमबहादुर चन्दको नेतृत्वमा सीमा क्षेत्रमा सुरक्षा निगरानी तथा अवैध गतिविधि नियन्त्रण अभियान सञ्चालन भइरहेको छ। नेपाल–भारत सीमाका मुख्य तथा सहायक नाकामा नियमित गस्ती र निगरानीलाई निरन्तरता दिइएको गणले जनाएको छ।
नेपालगन्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षमा सशस्त्र प्रहरीबाट नियन्त्रणमा लिइएका विभिन्न अवैध सामानबाट ११ करोड ७१ लाख ६३ हजार रुपैयाँ राजस्व भन्सारमा दाखिला भएको छ। उक्त विवरणमा २२ लाख ४८ हजार रुपैयाँ मूल्य बराबरको काठ समेत रहेको कार्यालयले जनाएको छ।
सुरक्षा अधिकारीहरूका अनुसार सीमा क्षेत्रमा बढाइएको निगरानीका कारण अवैध सामान ओसारपसार गर्ने प्रयासमाथि नियन्त्रण बढेको छ। नेपालगन्ज नाका व्यापार तथा आवतजावतका दृष्टिले महत्वपूर्ण भएकाले सीमा अपराध तथा राजस्व चुहावट नियन्त्रणमा सुरक्षा निकायबीच समन्वयसमेत बढाइएको छ।
सशस्त्र प्रहरीले सीमा सुरक्षासँगै लागूऔषध कारोबार, चोरीपैठारी, हुण्डी तथा अन्य गैरकानुनी गतिविधिविरुद्धको अभियानलाई आगामी दिनमा समेत निरन्तरता दिने जनाएको छ।